कालिकोट  ।  जुम्लादेखि कालिकोट हुँदै नेपालगन्ज बिरामी बोकेर गएको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जुम्लादेखि नेपालगन्ज बिरामी बोकेर जादैगरेको हिमा गाउँपालिका जुम्लाको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालिकोटको खाडाचक्र नगरपालिका–२ मेयरखोला नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको कालिकोटका डिएसपी हिम बहादुर खत्रीले बताए । खत्रीका अनुसार मृत्यु हुनेमा हिमा–६ पात खोला बस्ने ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा–७ मर्चीगाउँ बस्ने एम्बुलेन्स चालक २६ वर्षीय शक्तिबहादुर शाही छन् ।

एम्बुलेन्स सडकदेखि २५ मिटर तल खसेको थियो । एम्बुलेन्सले हिमा–६ का ७१ वर्षीय बिरामी कलबहादुर अधिकारीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि नेपालगन्ज लगिएको थियो । बिरामी बुबाको उपचारका लागि सँगै गएका छोरा ३२ वर्षीय भीमबहादुर अधिकारीको मृत्यु भएको हो । घाइते हिमा–६ का कलबहादुरको खुट्टामा चोट लागेको छ भने अर्का हिमा–७ मर्चीका २० वर्षीय लोकेन्द्र शाहीको कान र पेटमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।