काठमाण्डौ  ।  प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ प्रधानमन्त्री नियुक्ति भएको १० दिन बितिसक्दासम्म समेत उनले विदेशी राजदूतसँग भेट गरेका छैनन् ।

उनले  बुधबार बिहान परराष्ट्रमन्त्री शिशिर खनाल समेतलाई राखेर विदेशी राजदूतसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् ।प्रधानमन्त्रीनिकट स्रोतका अनुसार बिहान करीब ११ बजेतिर हुने विदेशी राजदूतको सामूहिक भेटवार्तामा पहिलोपटक प्रधानमन्त्री सहभागी हुनेछन् । भारत, चीन, अमेरिका, बेलायत लगायत देशका राजदूतलाई सामूहिक भेटका लागि बोलाइएको छ ।

विगतका प्रधानमन्त्री नियुक्त भएलगत्तै कूटनीतिक मर्यादाविपरीत राजदूतहरूको भीड लाग्ने र बालुवाटारसम्मै सहज पहुँच हुने गरेको अवस्थामा बालेनले राजदूतहरूलाई सहज भेट दिएका छैनन् । बालेनसँगको विदेशी राजदूतको पहिलो भेट सामूहिक रूपमा हुनेछ, जसले गर्दा सबै विदेशी राजदूतले आफ्नो देशको मात्रै स्वार्थ हेरेर कुनै कुरा राख्ने वातावरण बन्ने छैन ।

प्रधानमन्त्री बालेन कूटनीतिक मर्यादा पालनामा प्रतिबद्ध रहेका बताउँदै उनीनिकट स्रोतले नयाँ प्रधानमन्त्रीले कूटनीतिक सम्बन्धको नयाँ मानक स्थापित गर्न चाहेको जनाएको छ । ‘सामान्य कुराका लागि प्रधानमन्त्रीलाई नै भेट्नुपर्ने हुन्न, परराष्ट्रमन्त्री स्तरमै कतिपय कुरा गर्न सकिन्छ,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्रीलाई नै भेट्नुपर्ने अत्यावश्यक र गम्भीर विषयबाहेक प्रधानमन्त्रीले विदेशी राजदूतलाई नभेट्ने प्रणाली विकास हुनसक्छ ।’