इनरुवा— जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी हरिनगर–६ का २० वर्षीया नुसरत खातुनलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केशव थेबेले खातुनले आफ्नै भाउजू सलमा अजहरको नाममा जारी गरिएको प्रवेशपत्र लिएर परीक्षा दिइरहेको पाइएपछि पक्राउ गरिएको हो । पहिलो दिनदेखि नै लगातार परीक्षा दिँदै आएको भए पनि आज नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
भोक्राहा–२ स्थित जामिया इस्लामिया मदरसामा कक्षा १० मा अध्ययनरत सलमा हाल कतारमा रहेको जनाइएको छ ।
नक्कली परीक्षार्थी बनेर परीक्षा दिनु शिक्षा ऐनविपरीत भएकाले सोहीअनुसार खातुनलाई कारबाही हुने सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।






































