सप्तरी— नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास घुस रकमसहित पक्राउ परेका छन् ।
उनलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार इन्जिनियर दासले चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर राखेर लाइन छाडिदिने भनेर सेवाग्राहीसँग घुस मागेको भन्दै उजुरी परेको थियो । त्यस आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले दासलाई घुस रकमसहित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ बाट सोमबार नियन्त्रणमा लिएको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता अधिकारीले जानकारी दिए ।






































