काठमाडौं । देशभर अहिले माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेको छ । परीक्षा केन्द्रहरूमा विद्यार्थीहरू आफ्नो भविष्यको महत्त्वपूर्ण मोड पार गर्न व्यस्त छन् । तर यो केवल प्रश्नपत्र र उत्तरको मात्र कुरा होइन, यससँग जोडिएको छ भावनात्मक सम्बन्ध, आशा, चिन्ता र माया ।

यस्तै एउटा मनछुने दृश्य ललितपुर धापाखेलस्थित जेम्स स्कूलका शिक्षकले विद्यार्थीप्रति देखाएको सहानुभूतिबाट स्पष्ट हुन्छ । त्यहाँका भाइस प्रिन्सिपल राम प्रसाद बस्याल प्रत्येक दिन परीक्षा सुरु हुनुअघि केन्द्रको गेटमा उभिन्छन् ।

विद्यार्थीहरू भित्र छिर्नुअघि उनीहरूलाई मुस्कानसहित ‘गड ब्लेस यू’ भन्दै आशीर्वाद दिन्छन् । उनका शब्दहरू केवल शुभकामना मात्र होइनन्, आत्मविश्वास जगाउने ऊर्जा पनि हुन् । जेम्सको एसईई परीक्षा केन्द्र लगनखेलको नमुना मच्छिद्र माध्यमिक विद्यालय हो ।

बस्यालका लागि विद्यार्थीहरू केवल विद्यार्थी होइनन् उनीहरू आफ्नै छोराछोरीजस्तै हुन् । उनी भन्छन्, ‘यो त परिवारजस्तै हो । छोराछोरीजस्तै लाग्छन् । उनीहरूको चिन्ता लाग्छ के गर्लान, कस्तो लेख्लान भन्ने लागिरहन्छ । म केही बोल्दा उनीहरूलाई हिम्मत मिल्ला कि भन्ने महसुस हुन्छ ।’

शिक्षक र विद्यार्थीबीचको सम्बन्ध केवल कक्षाकोठामा सीमित हुँदैन । यो सम्बन्ध विश्वास, माया, जिम्मेवारी र मार्गदर्शनमा आधारित हुन्छ । कक्षा १ देखि १० सम्म विद्यार्थीहरू शिक्षककै छायाँमा हुर्किन्छन् । शिक्षकले उनीहरूलाई किताबको ज्ञान मात्र होइन, जीवनका मूल्य, अनुशासन र सही बाटो पनि सिकाउँछन् ।

जसरी आमाबुबा आफ्ना सन्तान सफल भएको देख्न चाहन्छन्, त्यसैगरी शिक्षकहरू पनि आफ्ना विद्यार्थीको सफलतामा गर्व गर्छन् । बस्यालका शब्दमा, ‘हाम्रो पेसा नै विद्यार्थीको भविष्यसँग जोडिएको छ । उनीहरूले कस्तो लेख्छन्,‘कस्तो नतिजा ल्याउँछन् भन्ने चिन्ता लाग्नु स्वाभाविक हो ।’

एसईईजस्तो महत्त्वपूर्ण समयमा यो सम्बन्ध अझ गहिरो बन्छ । विद्यार्थीहरूले शिक्षकको माया र विश्वासलाई आत्मसात् गर्दै परीक्षा दिन्छन्, जसले उनीहरूलाई आत्मविश्वासी बनाउँछ ।

शिक्षक केवल ज्ञान दिने व्यक्ति मात्र होइनन् उनीहरू भविष्य निर्माण गर्ने मार्गदर्शक हुन् । विद्यार्थीको सफलतामा उनीहरूको योगदान अमूल्य हुन्छ ।