काठमाडौं— नेपालको शिक्षा र प्रविधि क्षेत्रका लागि एक ऐतिहासिक उपलब्धि स्वरूप नेपाली विद्यार्थीहरूले अन्तर्राष्ट्रिय कोडिङ प्रतिस्पर्धामा विश्वव्यापी सफलता हासिल गरेका छन् । ‘इन्टरनेशनल डिस्कभरी एजुकेशन कोडिङ च्यालेन्ज २०२४–२०२५’ मा उत्कृष्ट स्थान प्राप्त गर्न सफल ती प्रतिभावान विद्यार्थीहरूलाई शनिबार काठमाडौँको नयाँ बानेश्वरस्थित अल्फा बिटा ब्यांक्वेटमा आयोजित एक भव्य समारोहबीच पुरस्कृत गरिएको हो । दूरशिक्षा एजुकेशन नेटवर्कले डिस्कभरी एजुकेशन र एड्युटेकको सहकार्यमा उक्त पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

यस वर्षको प्रतिस्पर्धामा नेपाली बाल प्रतिभाहरूले विश्वस्तरमै आफ्नो वर्चस्व कायम गरेका छन् । पाइथन प्रोग्रामिङ विधामा अंशु कृष्ण रिजालले विश्वमै प्रथम स्थान हासिल गर्दै नेपालको गौरव बढाएका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स र डाटा साइन्स जस्ता आधुनिक क्षेत्रमा प्रयोग हुने पाइथनमा उनको यो सफलतालाई विज्ञहरूले उच्च प्रशंसा गरेका छन् । त्यसैगरी, सिनियर ब्लक कोडिङमा श्रेयस खड्गीले विश्वमै दोस्रो स्थान प्राप्त गरे भने जुनियर ब्लक कोडिङमा विनायक पाङ्गेनीले पनि विश्वव्यापी दोस्रो स्थान सुरक्षित गर्न सफल भए । यी नतिजाहरूले नेपालको युवा जनशक्ति विश्वव्यापी प्राविधिक क्रान्तिको नेतृत्व गर्न सक्षम रहेको प्रमाणित गरेको छ ।

पुरस्कार वितरण समारोहको सभापतित्व गर्दै दूरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद पाण्डेले नेपाली प्रतिभा र विश्वव्यापी अवसरबीचको खाडल पुर्न संस्था प्रतिबद्ध रहेको बताए । उनले भने,‘हामी नेपाली विद्यार्थीहरूलाई विश्वस्तरको एक्स्पोजर प्रदान गरिरहेका छौँ । यो कोडिङ प्रतिस्पर्धा एउटा सुरुवात मात्र होस आगामी दिनहरूमा हामी अन्तर्राष्ट्रिय पाठ्यक्रमलाई थप सुदृढ बनाउँदै लैजानेछौँ’ पाण्डेले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा कम्प्युटेशनल सोच र समस्या समाधान गर्ने क्षमताको विकास गर्ने धारणा राखे ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले दूरशिक्षाको प्रयासको सरहाना गर्दै यस्ता उपलब्धिहरू देशको आर्थिक र औद्योगिक विकासका लागि मेरुदण्ड हुने बताइन् । उनले आगामी दिनमा दक्ष जनशक्ति उत्पादन र उद्यमशीलता प्रवद्र्धनका लागि महासंघले दूरशिक्षासँग सहकार्य गर्ने इच्छा व्यक्त गरिन् ।

यस्तै, क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले शिक्षा क्षेत्रमा डिजिटल रूपान्तरणको महत्त्वमा जोड दिँदै ‘बाल्यकालको कोडिङ’ केबल रुचि मात्र नभई नेपालको बलियो प्रविधि इकोसिस्टमको जग भएको उल्लेख गरे ।

कार्यक्रममा टेक उद्यमी जयन्ती माला चपागाईं र सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनका प्रतिनिधिहरूले विजेताहरूलाई बधाई दिँदै सुरक्षित ‘डिजिटल नेपाल’ निर्माणका लागि यी युवा प्रतिभाहरू नै पहिलो पाइला भएको बताए ।