काठमाडौं— पोखरा महानगरपालिकाले फेवातालको मापदण्ड विपरीत निर्माण भएका बाँकी संरचना हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ । शनिबार एक विज्ञप्ति जारी गरी महानगरले भत्काउन बाँकी रहेका सबै संरचना १५ दिनभित्र हटाइसक्न आदेश दिएको हो ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा महानगरको समेत सक्रियतामा प्रहरी लगाएर करिब ३० वटा अस्थायी संरचनामा डोजर लगाइएको छ ।
‘तालको सीमाङ्कन कार्य सम्पन्न भइसकेपछि पनि सर्वोच्च अदालतबाट कायम गरिएको जल सतहको उच्चतम बिन्दुबाट ६५ मिटर भित्र पर्ने क्षेत्रमा रातारात संरचनाहरू निर्माण भएको पाइएकाले महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’ सूचनामा भनिएको छ, ‘अटेर गरी सीमाङ्कन पश्चात् निर्माण गरिएका सम्पूर्ण अनधिकृत संरचनाहरू यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र हटाउनुहुन सम्बन्धित निर्माणकर्तालाई सूचित गरिन्छ ।’
तोकिएको समयभित्र संरचना नहटाएमा महानगरपालिकाले कानुन बमोजिम आफैँ हटाउने र सो क्रममा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल उपर गरिने चेतावनी दिएको छ ।
‘तोकिएको समयभित्र संरचना नहटाएमा महानगरपालिकाले कानुन बमोजिम हटाउनेछ भने, हटाउँदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर तथा सरकारी बाँकी सरह कारबाही हुने ब्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो सार्वजनिक सूचना गरिन्छ,’ सूचनामा उल्लेख छ ।
यसअघि पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल सरकारको संयुक्त पहलमा फेवातालको जल सतहको उच्चतम बिन्दु पहिचान गरी तालको सिमाङ्कनको काम सकिसकेको छ ।
६५ मिटर क्षेत्रभित्र पर्ने जग्गाको वर्गीकरण, मुआब्जा पाउने वा दूषित बदर हुने कित्ता निर्क्योल गर्ने काम अन्तिम चरणमा रहेको महानगरले जनाएको छ ।






































