काठमाडौं— मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न एक प्रतिवादीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँची शितगंगा नगरपालिका–५ निवासी ३० वर्षीय शिवबहादुर सारु रहेका छन्।
मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनलाई साउदी अरबबाट फ्लाई दुबइमार्फत नेपाल फर्कने क्रममा अध्यागमन कार्यालयको समन्वयमा नियन्त्रणमा लिएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, सारुले सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत पीडितसँग सम्पर्क गरी आर्थिक प्रलोभन देखाउँदै ग्राहक खोज्ने र विभिन्न होटल तथा कोठामा पठाई जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराएको खुलेको छ।
उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






































