काठमाडौं— कम्बोडियामा बिनाभिसा बसिरहेका १२ नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ। थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासका अनुसार उनीहरूलाई मंगलबार नेपाल ल्याइएको हो।
राजदूतावासका अनुसार ती नेपाली विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका थिए। त्यहाँ पुगेपछि उनीहरूलाई अवैध रूपमा सञ्चालनमा रहेका अनलाइन ‘स्क्यामिङ’ केन्द्र, क्यासिनोमार्फत ठगी तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएको पाइएको छ।
कम्बोडिया सरकारको समन्वयमा उनीहरूको उद्धार सम्भव भएको दूतावासले जनाएको छ। साथै, यस्तै अवस्थामा अलपत्र परेका अन्य नेपालीलाई समेत स्वदेश फर्काउने प्रक्रिया जारी रहेको उल्लेख गरिएको छ।
दूतावासका अनुसार स्क्यामिङ केन्द्रहरूमा काम गराइएका नेपालीहरूको राहदानी कम्पनीले जफत गर्ने गरेको गुनासोसमेत आएको छ। यस्तो अवस्थामा परेका नेपालीलाई उद्धार गर्न राजदूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउँदै आएको छ।
उपलब्ध तथ्यांकअनुसार सन् २०२५ मा ९ हजार ६७६ नेपाली कम्बोडिया पुगेका छन्। यससँगै राजदूतावासले वैदेशिक रोजगारीमा जाँदा नेपाल सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र जान र छिटो तथा धेरै कमाइको प्रलोभनमा परी भ्रमण भिसामा विदेशी मुलुक नजान आग्रह गरेको छ।






































