सर्लाही— सत्ताको आडमा वर्षौँदेखि अवैध रूपमा सञ्चालन हुँदै आएको सर्लाहीको बसबरिया गाउँपालिका–३, कोठियारस्थित अभिनित वासिङ्ग उद्योग तथा अभिनित ढुंगा क्रसर उद्योग अन्ततः बन्द गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रशासनले सोमबार दिउँसो उक्त क्रसर उद्योग बन्द गराएको हो। देशभर अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योगहरू बन्द गराउने उद्देश्यले गृह मन्त्रालयले हालै सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन जारी गरेको थियो।

निर्देशनअनुसार दर्ता नभएका, नवीकरण नगरेका तथा सञ्चालन अनुमति नलिई चलिरहेका ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा प्रशोधनमा संलग्न उद्योगहरू तत्काल बन्द गर्न भनिएको छ। सोही निर्देशन कार्यान्वयन गर्दै प्रहरी टोली खटिएर उक्त उद्योग बन्द गराइएको हो।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार उद्योग अवैध रूपमा सञ्चालनमा रहेकाले बन्द गरिएको हो।

यसअघि पनि प्रशासनले पटक–पटक अनुगमन गरी उद्योग बन्द गराए पनि राजनीतिक संरक्षणका कारण पुनः सञ्चालन हुँदै आएको थियो। गत वर्ष बन्द गराएपछि समेत उद्योग सञ्चालकले रातिको समयमा क्रसर चलाउने र दिउँसो बन्द राख्ने गरेका थिए।

यसपटक भने पुनः सञ्चालन हुन नदिन विद्युत् लाइन नै काटिएको जनाइएको छ।

उक्त उद्योग बस्ती नजिकै सञ्चालन हुँदा स्थानीयवासी लामो समयदेखि प्रभावित हुँदै आएका थिए। उद्योगबाट निस्कने धुलो तथा प्रदूषणका कारण नजिकै रहेको एक विद्यालय समेत वर्षौँदेखि प्रभावित भई बन्दजस्तै अवस्थामा पुगेको स्थानीयको गुनासो रहेको छ।