काठमाडौं— राष्ट्रिय समाचार समिति(रासस)को कार्यकारी अध्यक्ष पदबाट पत्रकार धमेन्द्र झाले राजीनामा दिएका छन् । कार्यकारी अध्यक्ष झाले नेपाल सरकारको निर्णयबमोजिम आफू नियुक्त भएको भन्दै आइतबार नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनालाई राजीनामा बुझाएका हुन् ।
झाले आफ्नो कार्यकालमा संस्थाको सर्वोत्तम हितमा आफूले काम गरेको भन्दै राजीनामा पत्रमा अगाडी उल्लेख गरेका छन्, ‘म उक्त पदमा नियुक्त भएपछिका दिनमा मेरो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म पत्रकारिताको मूल्य–मान्यताको अनुशरण गर्दै राससको सर्वोत्तम हित प्रवर्द्धनका दिशामा कृयाशील रहदै आएको छु ।’
देशको परिवर्तित राजनीतिक परिवेशलाई आत्मसात गर्दै नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्यसञ्चालन गर्नुपर्छ भन्ने मान्यता राखेर आफूले मार्गप्रसस्त गरेको झाले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।






































