काठमाडौं— काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
प्रदर्शनकारी माइतीघर मण्डलाबाट नयाँबानेश्वरतर्फ अगाडि बढ्न खोज्दा प्रहरीले बबरमहलस्थित जिल्ला अदालत अगाडि रोक्न खोजेको थियो । त्यसक्रममा झडप भएको हो । अहिले अवस्था तनावग्रस्त छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले आज बिहानै गिरफ्तार गरेको थियो । त्यसको विरोधमा एमालेका २३ जनसंगठनहरूले एकीकृत रुपमा माइतीघरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरू निषेधाज्ञा तोडेर नयाँ बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले धरपकड सुरु गरेको छ ।






































