काठमाडौं— बजार अनुगमनका क्रममा अनियमितता फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ।

विभागका अनुसार इमाडोलस्थित दशरथ ग्रोसरी प्रालिलाई ५० हजार रुपैयाँ, सूर्यविनायक–बालकोटको शाह एण्ड शाह इन्टरप्राइजेजलाई १० हजार रुपैयाँ र महालक्ष्मी–५ टिकाथलीको ए एण्ड ए सपिङ सेन्टरलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको हो।

अनुगमनका क्रममा कानुन विपरीत कारोबार गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको विभागले जनाएको छ।

यसैगरी, अन्य १५ वटा फर्मलाई भने सुधार गर्न निर्देशन दिइएको छ। विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको सहभागितामा नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ।