काठमाडौं— काठमाडौं महानगरपालिका–५, कालोपुलस्थित एक व्यक्तिको डेराबाट लाखौँ मूल्य बराबरको धनमाल चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

प्रहरीले शनिबार राति बुढानीलकण्ठ नगरपालिका–२ घर भएका २३ वर्षीय उपेन्द्र खत्री र कैलाली गौरीगङ्गा नगरपालिका–२ घर भएका २६ वर्षीय नीरज सापकोटालाई् पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालय र स्थानीय प्रहरीको सक्रियतामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

गत चैत ६ गते पीडितको कोठाबाट अन्दाजी २६ तोला ८ आना बराबरको सुनका गरगहना, ३३ हजार मूल्य बराबरको चाँदीका गरगहना लगायतका सामान चोरी भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले चोरीका विभिन्न सामानहरू सहित उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट सुनको जस्तो देखिने विभिन्न गरगहनाहरू, चाँदीको जस्तो देखिने विभिन्न गरगहनाहरू, खुकुरी १ थान, फलामको रड २ थान, तरबार १ थान, नगद २ लाख ४९ हजार रुपैयाँ र चोरी गर्दा प्रयोग गरिएको स्कुटर १ थान समेत बरामद गरेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।