काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्मा पनि एकताको सुरुआत भएको छ । एनआरएनए फ्रान्समा लामो समयदेखि चलेको विवाद अन्त्य भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माको उपस्थितिमा आइतबार साँझ भएको भेलाले दिलीप गुरुङको नेतृत्वमा एकीकृत एनआरएनए फ्रान्सको कार्यसमिति चयन गरेको छ ।
अन्तर्राष्ट्रिय समन्वय परिषद्को मार्च १४–१६, काठमाडौंमा सम्पन्न १२औँ वृहत् एकता महाधिवेशनपछि डा।शर्मा सर्वसम्मत अध्यक्ष चयन भएका थिए । त्यसपछि समानान्तर गतिविधि गर्दै आएका एनसीसीको एकता प्रक्रिया सुरु भएको हो ।
काठमाडौंमा ‘फेस–टु–फेस’ मिटिङ सकेर अध्यक्ष डा। शर्मा सिधै फ्रान्स पुगेका थिए । त्यहाँ दिलीप गुरुङ र मीन श्रेष्ठ नेतृत्वको दुई कार्यसमिति मर्ज भएका छन् । समझदारी अनुसार दिलीप गुरुङले एनसीसीको नेतृत्व गर्नेछन् भने मीन श्रेष्ठलाई आइसिसी सदस्य बनाउने सहमति भएको छ ।
कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ र लाल बहादुर सोडारी, महासचिवमा राजु बस्नेत, कोषाध्यक्षमा समीक्षा थापा, सचिवमा नीरजचन्द्र सोडारी र जीत कुमार विश्वकर्मा, महिला उपाध्यक्षमा नीलिमा शाही र विष्णु शाही, खुल्ला उपाध्यक्षमा सरोज अधिकारी, सह कोषाध्यक्षमा श्रवण कुमार मैनाली, महिला संयोजकमा यमकला पौडेल र किरण चालिसे, युवा संयोजकमा मिलन रसाइली, सदस्यमा मनोज गुरुङ, विष्णु दुवाडी, सन्दीप गुरुङ, रम्भा तामाङ, दीपेन्द्र लामा, कृष्ण महर्जन र रम्ना राई रहेका छन् । आइसिसी सदस्यमा लोक बहादुर पुन चयन भए भने शिवराम भण्डारीलाई पछि मनोनयन गर्ने प्रस्ताव गरिएको छ ।
अध्यक्ष डा.शर्मा भन्छन्, ‘आइसिसी एकता भएपछि एनसीसीको एकता मेरो प्राथमिकतामा रहेको छ। फ्रान्सबाट सुरु भएको एनसीसी एकता प्रक्रिया अन्य देशमा पनि चाँडै सुरु हुने विश्वास छ ।’
उनले एनआरएनए फ्रान्स मिलाउन सहयोग गर्ने संस्थापक तथा पूर्व अध्यक्षलाई धन्यवाद दिएका छन् ।
यसअघि नोभेम्बर ३० मा केन्द्रमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता प्रक्रिया सुरु भएको थियो । त्यसपछि मार्च १४–१६ मा एकता महाधिवेशन सम्पन्न भएको थियो र सर्वसम्मत नेतृत्व चयन गरेर एकताको सन्देश दिन प्रयास गरिएको थियो ।






































