काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाह नेतृत्वको सरकारका लागि मन्त्री चयनबारे आन्तरिक छलफल तीव्र पारेको छ।
रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच सरकार गठनबारे निरन्तर परामर्श भइरहेको स्रोतले जनाएको छ। दुवै नेताबीच प्रभावकारी र परिणाममुखी सरकार बनाउने तथा सक्षम सांसदलाई मात्रै मन्त्रिपरिषद्मा सहभागी गराउने सहमति भएको बताइएको छ।
सहमति अनुसार सरकार सञ्चालनको नेतृत्व शाहले गर्नेछन् भने पार्टीको समग्र जिम्मेवारी लामिछानेले सम्हाल्नेछन्।
प्रधानमन्त्रीका उम्मेदवार शाह अहिले क्याबिनेट गठन र पदभार ग्रहण गरेपछि अघि बढाइने कामहरूको तयारीमा जुटेका छन्। प्रारम्भिक समझदारी अनुसार अर्थमन्त्रीमा पार्टी उपसभापति तथा अर्थशास्त्री स्वर्णिम वाग्ले नियुक्त हुने लगभग निश्चित छ। त्यस्तै, परराष्ट्रमन्त्रीमा विदेश विभाग प्रमुख शिशिर खनाल रहने सम्भावना उच्च रहेको छ।
रक्षामन्त्रालय भने प्रधानमन्त्री शाहले आफैंसँग राख्ने तयारी गरिएको छ।
शाह नेतृत्वको मन्त्रिपरिषद् अधिकतम १४ सदस्यीय हुने बताइएको छ। क्षेत्रीय सन्तुलन र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने गरी गृहकार्य भइरहेको स्रोतको भनाइ छ।
सम्भावित मन्त्रीहरूको सूचीमा डीपी अर्याल, सुदन गुरुङ, सस्मित पोखरेल, सुनिल लम्साल, मिग्मा डेभिड शेर्पा र अमरेश सिंह रहेका छन्।
त्यसैगरी, विराजभक्त श्रेष्ठ, प्रतिभा रावल, सोविता गौतम र आशिष गजुरेललगायत पनि मन्त्री बन्ने सम्भावित सूचीमा छन्।
प्रधानमन्त्रीका रूपमा शाहले चैत १४ भित्र सपथ लिने तयारी गरेको जनाइएको छ।




































