काठमाडौं— क्यानडा पठाइदिने प्रलोभन देखाएर पाँच जनाबाट २७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले गीता भण्डारीलाई पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान विभाग टेकुले काठमाडौं–९ बाट ५१ वर्षीया भण्डारीलाई नियन्त्रणमा लिएको हो। उनको स्थायी ठेगाना कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भण्डारीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने आश्वासन दिँदै पाँच जनासँग ठूलो रकम उठाएको उजुरी परेको थियो। सोही उजुरीका आधारमा प्रहरीले खोजी अभियान चलाएर उनलाई पक्राउ गरेको हो।

पक्राउ परेकी भण्डारीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।