सर्लाही— सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
जिल्लाको कविलासी नगरपालिका – ८ कविलासीस्थित सडकमा म.प्र.०२–००६ प ७०७ नम्बरको मोटरसाइकलले साइकलमा सवार स्थानीय ६५ वर्षीय राम नरेश महतोलाई ठक्कर दिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना पनि घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।






































