काठमाडौं— फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीको विहीबार बिदाई गरिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि बिदाई गरिएको हो ।

कार्यक्रममा बोल्दै ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख होविन्द्र बोगटीले निर्वाचन सुरक्षामा खटिएका प्रहरीको योगदान महत्वपूर्ण रहेको बताए । उनले निर्वाचन प्रहरीलाई देशले विश्वासका साथ महत्वपूर्ण जिम्मेवारी दिएको उल्लेख गर्दै निर्वाचन अवधिभर उनीहरूले प्रहरीसँगै सारथीका रूपमा काम गरेको बताए ।

उनले भने, ‘भर्खर आफ्ना केही कुराहरु सुनाएर निर्वाचन प्रहरीलाई फिल्डमा पठाएका थियौं । काँधमा देशले विश्वास गरेर महत्वपूर्ण जिम्मेवारी दिइएको थियो । नेपाल प्रहरीको पनि प्रहरी हो निर्वाचन प्रहरी । हाम्रो प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी हामी सबैको हो । ४० दिनसम्म सुरक्षा गर्ने, कार्यालयहरुको सुरक्षा गर्ने, बुथको सुरक्षा गर्ने, प्रहरी सँगसँगै हिड्ने एउटा सारथीको हिसावले निर्वाचन प्रहरी खटिनुभयो ।’

उनका अनुसार निर्वाचन प्रहरीले करिब ४० दिनसम्म प्रहरी कार्यालय, मतदान केन्द्र तथा सुरक्षासम्बन्धी विभिन्न जिम्मेवारी निर्वाह गर्दै नेपाल प्रहरीलाई सहयोग गरेका थिए ।