हेटौँडा— मकवानपुरको कैलाश गाउँपालिकामा गाउँस्तरमै अस्पताल स्थापना भई सेवा प्रवाह हुन थालेकोलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

बुधबार आयोजित गाउँपालिकाको ९औँ स्थापना दिवस तथा १० शैयाको वी।पी। स्मृति कैलाश आधारभूत अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले लोकतन्त्रले नागरिकको आधारभूत आवश्यकता गाउँमै उपलब्ध गराउने वातावरण सिर्जना गरेको बताए ।

उनले अब अस्पतालमार्फत रगत, दिशा–पिसाब जाँच, आँखा परीक्षण, हाडजोर्नी तथा सामान्य स्वास्थ्य सेवाहरू स्थानीय स्तरमै उपलब्ध हुने भएकाले कैलाशवासीलाई सहज हुने उल्लेख गरे । लोकतन्त्रलाई भ्रमको व्यवस्था नभई सत्य र यथार्थको व्यवस्था भएको बताउँदै उनले जनप्रतिनिधिले जनताको कुरा सुन्दै र जनतामाझ रहेर काम गर्नुपर्नेमा जोड दिए ।

भौगोलिक रुपमा विकट मानिने कैलाश गाउँपालिका सडक सञ्जाल विस्तार, शिक्षा र स्वास्थ्य सेवाको सुधारसँगै क्रमशः विकासको मार्गमा अघि बढिरहेको उनले बताए । प्राकृतिक सौन्दर्यले भरिपूर्ण कैलाश धार्मिक तथा पर्यटन सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै त्यसलाई व्यवस्थित रूपमा विकास गर्नुपर्ने धारणा राखे। साथै उनले स्थानीय तहले सीपमूलक शिक्षा र उद्यमशीलतामुखी कार्यक्रममार्फत नागरिकको आयआर्जन बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले गाउँमै सञ्चालन भएको अस्पतालबाट सेवा लिन स्थानीयलाई आग्रह गरे । उनले सामान्य उपचार गाउँमै उपलब्ध भए पनि जटिल रोगको उपचारका लागि अस्पतालको सेवा लिनुपर्ने बताए ।

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले संघीय शासन प्रणाली कार्यान्वयनसँगै स्थानीय सरकारको महत्वपूर्ण आधारका रूपमा गाउँपालिका स्थापित भएको बताए। उनले यस वर्ष पहिलो पटक गाउँपालिकाले औपचारिक रूपमा स्थापना दिवस मनाएको जानकारी दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले अस्पताल सञ्चालनका लागि आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाए । उनले छिट्टै चिकित्सकको व्यवस्था गरी सेवा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा लोकगायिका प्रतिमा अर्यालले सांगीतिक प्रस्तुति दिएकी थिइन् भने कर्मचारी तथा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा वडाअध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक–शिक्षिका, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो ।