काठमाडौं— गत शनिबार वीरेन्द्रनगर नगरपालिका-४, सुर्खेतस्थित शहीद उद्यानभित्र रहेको जनजागरण सामुदायिक वनमा १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाप्रति विभिन्न सङ्घसंस्थाहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन् ।
सुर्खेतका विभिन्न नागरिक समाज तथा मानवअधिकारसम्बन्धी सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न उनीहरूले माग गरेको छ ।
विभिन्न सङ्घसंस्थाले घटनाले आफूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।
वीरेन्द्रनगर नगरपालिका१ मा बसोबास गर्दै आएकी १६ वर्षीया बालिकामाथि भएको यस्तो क्रूर अपराधले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘महिला तथा बालिकामाथि हुने यौन हिंसा कुनै पनि बहानामा सह्य हुन सक्दैन । सुरक्षित, सभ्य र न्यायपूर्ण समाज निर्माणका लागि राज्यका निकाय, नागरिक समाज र आम नागरिक सबैको साझा प्रतिबद्धता र सक्रिय भूमिका आवश्यक छ ।’
साथै, महिला तथा बालबालिकामाथि हुने यौन हिंसा तथा अपराधका घटनाहरू रोकथाम गर्न प्रभावकारी सुरक्षा व्यवस्था, निगरानी तथा सचेतनामूलक कार्यक्रमहरूलाई थप सुदृढ बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।






































