तनहुँ— चालु आर्थिक वर्षको पहिलो छ महिनामा तनहुँमा उद्योग तथा व्यवसाय दर्ता गर्नेको संख्या उल्लेख्य रूपमा बढेको छ। एकीकृत सेवा कार्यालय दमौलीका अनुसार साउनदेखि पुस मसान्तसम्म जिल्लामा कुल ३३५ नयाँ उद्योग तथा फर्म दर्ता भएका छन्।

कार्यालयका अनुसार सो अवधिमा १८० वटा उद्योग, १५३ वटा वाणिज्य फर्म र पर्यटनतर्फ दुई वटा व्यवसाय दर्ता भएका हुन्।

नयाँ दर्ता तथा नवीकरण प्रक्रियामार्फत कार्यालयले रु ४६ लाख सात हजार ४०० राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले जानकारी दिए। उनका अनुसार उद्योगतर्फ एक हजार २३ र वाणिज्यतर्फ ९८८ व्यवसाय नवीकरण गरिएको छ।

त्यस्तै, उद्योगतर्फ १०८ वटाको लगत कट्टा र ८१ वटाको संशोधन गरिएको छ भने वाणिज्यतर्फ १०८ वटाको लगत कट्टा र ८३ वटाको संशोधन भएको छ।