काठमाडौं— शेयर बजारमा पछिल्ला केही दिनदेखिको ओरालो यात्राले आइतवार पनि निरन्तरता पाएको छ । अघिल्लो साताको अन्तिम कारोवारको दिन बिहीवार १७ दशमलव ५३ अंकले घटेको नेप्से आइतवार पुनः १९ दशमलव ८५ अंकले घटेको हो ।
यो गिरावटसंगै नेप्से ओर्लिएर २६९४ दशमलव २० अंकमा आइपुगेको छ भने कारोबार रकम पनि खुम्चिन पुगेको छ । गत हप्ता एकै दिन अधिकतम १६ अर्बसम्मको कारोबार भएकोमा आइतवार ९ अर्ब १० करोडमा खुम्चिएको छ। यो दिन कारोबारमा आएका २२९ वटा सेयरमध्ये २०१ वटाको मूल्य घट्दा ५० वटाको मात्रै बढेको छ ।
त्यस्तै, नेप्से सूचक अधिकतम २७८८ अंकमा पुग्दा मूल्य बढेको सेयरहरुमा सूचक ओर्लिएसँग करेक्सनहरु देखा परेका छन् । आइतवार होटल समूहको सूचक सबैभन्दा धेरैले घट्दा बजारको नेतृत्व गर्ने वाणिज्य बैंक तथा विकास बैंकको सूचक पनि नकारात्मक बन्न पुगे । यसले समग्र बजार नकारात्मक बनेको हो । आज व्यापार समूहको ० दशमलव ५५ प्रतिशतले उपसूचक बढे पनि अन्यको भने नकारात्मक नै रहेको हो ।
कम्पनीगत रुपमा भने यो दिन मिथिला लघुवित्तको मूल्य सर्किट तहमा अर्थात ९ दशमलव ७० प्रतिशतले बढेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ८ दशमलव १९ प्रतिशतले बढ्न पुगेको छ । अन्य कम्पनी तथा म्युचुअल फन्डहरुको मूल्यमा सामान्य वृद्धि देखिएको छ । यता, २०१ मध्ये सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा गिरावट देखिएको छ । पछिल्लो केही दिनदेखि लगातार मूल्य बढिरहेको यो सेयरमा आज नकारात्मक सर्किट लागेको हो ।
योबाहेक रावा इनर्जी डेभलपमेन्ट लिमिटेड ९ दशमलव ३४ प्रतिशत र कालिका पावर कम्पनी ७ दशमलव ३५ प्रतिशतको गिरावटसँगै सर्वाधिक गुमाउनेको सूचीमा दोस्रो र तेस्रो स्थानमा छन् । आज सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युत् कम्पनीको भएको छ । यो कम्पनीको ५५ करोड बराबरको कारोवार भएको छ ।



































