धनुषा— पछिल्लो एक सातादेखि तराई–मधेश क्षेत्रमा एक्कासी चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ। चिसो बढेसँगै बजार क्षेत्रहरू सुनसान देखिन थालेका छन् भने सर्वसाधारणको आवतजावत उल्लेख्य रूपमा घटेको छ।
बिहानपख बाक्लो शीत र चिसो हावाका कारण दैनिक जनजीवन प्रभावित भएको स्थानीयवासीले बताएका छन्। विशेषगरी ग्रामीण भेगमा किसानहरू चिसोका कारण ढिलो गरी मात्र खेततर्फ जान थालेका छन्, जसले कृषि गतिविधिमा असर पुगेको छ।

गाईभैंसी चराउन जाने किसानहरूलाई पनि चिसोले समस्या थपेको छ। चिसोबाट पशुहरूलाई जोगाउन किसानहरूले गाईभैंसीलाई कपडा बाँधिदिने गरेका छन्। लामो समयसम्म चिसो यस्तै रहेमा बालबालिका, वृद्धवृद्धा तथा गरिब वर्ग बढी प्रभावित हुने स्थानीयको चिन्ता छ।

स्वास्थ्यकर्मीहरूले चिसोबाट जोगिन न्यानो कपडा लगाउन, बिहान र बेलुका अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन तथा बालबालिका र वृद्धवृद्धाको विशेष ख्याल गर्न सुझाव दिएका छन्।






































