काठमाडौं । भोटेकोशी जलविद्युत आयोजनाका सम्बन्धमा पछिल्ला दिनमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित “स्थानीयलाई निःशुल्क शेयर दिने सहमति” सम्बन्धी समाचारप्रति भोटेकोशी पावर कम्पनी प्रा.लिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनी प्रा.लि. बीच निःशुल्क शेयर दिने बारेमा कुनै पनि सहमति नभएको स्पष्ट पारिएको छ ।

विज्ञप्तिअनुसार, भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडले भोटेकोशीको १० प्रतिशत शेयर खरिद गर्न आवेदन दिनुअघि जलविद्युत उत्पादन क्षेत्रका प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई आफ्नो पब्लिक कम्पनीमा शेयरधनी बनाइसक्नेछ । त्यसपछि भोटेकोशीले उक्त कम्पनीलाई प्रति शेयर अंकित मूल्य १०० रुपैयाँका दरले १० प्रतिशत शेयर बिक्री गर्ने सहमति भएको कम्पनीले जनाएको छ ।

शेयर खरिदका लागि आवश्यक रकम भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्टले बैंकबाट ऋण लिने र सो ऋणको लागि भोटेकोशीले जमानीको व्यवस्था गर्ने सम्झौता भएको कम्पनीले स्पष्ट गरेको छ । निर्माण सम्पन्न भइसकेको उक्त आयोजनाबाट प्राप्त वार्षिक लाभांश मार्फत उक्त कम्पनीले लिएको ऋण र ब्याज तिर्ने व्यवस्था गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले थप स्पष्ट पारेको छ कि उक्त व्यवस्था निःशुल्क शेयर वितरणको सहमति होइन, तर व्यावसायिक र वित्तीय समझदारी अन्तर्गतको शेयर बिक्री व्यवस्था हो । यस विषयमा गलत बुझाइ वा भ्रम नफैलाउन सम्पूर्ण सञ्चारमाध्यम र सरोकारवाला निकायलाई कम्पनीले अनुरोध गरेको छ ।