हेटौँडा । वर्षा रोकिएसँगै आज(आइतबार) हेटौँडाको आकाश आंशिक खुलेको छ । विगत केही दिनदेखिको अविरल वर्षापछि आज बिहानदेखि घाम देखिँदा जनजीवन सामान्य बन्दै गएको छ ।
सडकमा सवारीसाधनको आवागमन बढेसँगै बजार र गल्लीहरूमा चहलपहल बढेको छ । वर्षाका कारण घरभित्र सीमित रहन बाध्य भएका सर्वसाधारण आज बिहानदेखि दैनिक क्रियाकलापमा फर्किएका छन् ।
वर्षासँगै प्रभावित भएका सडकहरूमा मर्मत कार्य सुरु हुन थालेको छ भने स्थानीय व्यवसायीले पनि पसलहरू नियमित रूपमा सञ्चालन गर्न थालेका छन् । मौसम विभागका अनुसार आज दिउँसो आंशिक बदली रहने भए पनि हेटौँडामा ठूलो वर्षाको सम्भावना कम रहेको छ ।