हेटौंडा— हेटौँडाको कान्तिराजपथ र भैरवरोड क्षेत्रमा आज भएको बजार अनुगमनका क्रममा माउन्टेन डिउ किन्ने उपभोक्ताहरूलाई अनिवार्य रूपमा मिरिन्डा किन्न बाध्य पारिएको पाइएको छ ।
अनुगमनका क्रममा ९ बोटलको माउन्टेन डिउको केसमा एक बोटल मिरिन्डा राखेर बिक्री भइरहेको पाइएको छ । उपभोक्ताहरूले आफूले चाहेका मात्र डिउ किन्न सक्दैनन् र बाध्यतावश मिरिन्डा पनि किन्नु परेको गुनासो गरेका छन् ।
उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष बासु खतिवडाले भने, ‘डिलरहरूले कम बिक्री हुने मिरिन्डा र स्लाइस जस्ता पेय पदार्थ डिउको प्याकेटमा हालेर उपभोक्तालाई किन्न बाध्य पारिरहेका छन् । यो कार्य उपभोक्ता अधिकार विपरीत हो । जिल्ला प्रशासनले सम्बन्धित डिलरविरुद्ध कारबाही गर्नुपर्नेछ ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक दिपक घिमिरेले अनुगमनका क्रममा माउन्टेन डिउमा मिरिन्डा अनिवार्य राखिएको पुष्टि गरे । तर, कार्यालयको अधिकार खाद्य पदार्थको गुणस्तर, म्याद, र लेबल जाँचमा सीमित भएकाले यस विषयमा कारबाहीको निर्णय छलफलपछि मात्रै अघि बढाइने उनले बताए ।
चाडपर्व लक्षित संयुक्त बजार अनुगमनका क्रममा कान्तिराजपथ, भैरवरोडका खाद्यान्न पसल र मिठाई पसलहरूमा समेत यस्तै स्थिति पाइएको छ ।