काठमाडौं— काठमाडौं महानगरपालिकाले देशभरिका दुर्गम क्षेत्रका ३५ स्थानीय तहलाई एम्बुलेन्स प्रदान गर्ने भएको छ। एम्बुलेन्सहरू तयारी अवस्थामा राखिएको र मङ्गलबारदेखि वितरण सुरु हुने मेयर बालेन शाहले जनाएका छन्।
उनका अनुसार पहिलो चरणमा मापदण्डको आधारमा छनोट गरिएका गाउँपालिकाहरूलाई एम्बुलेन्स पठाइनेछ। स्वास्थ्य सेवा पहुँच अभावले पछाडि परेका पालिकालाई प्राथमिकतामा राखिएको बताइएको छ।
“स्वास्थ्य सेवा सबै नेपालीको आधारभूत अधिकार हो,” मेयर शाहले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो।”
शाहका अनुसार वितरण प्रक्रिया पारदर्शी हुनेछ र कुनै पनि नागरिकले स्वास्थ्य सेवाको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने लक्ष्यका साथ यो अभियान थालिएको हो।