जनकपुरधाम— जनकपुरधामस्थित भन्सार कार्यालयमा भएको आगजनी र तोडफोडबाट करिब १३ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। भन्सार प्रमुख मानबहादुर पौडेलले शुक्रबार आयोजित समीक्षा बैठकमा क्षतिको विवरण प्रस्तुत गरेका हुन्।

गत भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा प्रदर्शनकारीले जनकपुर रेल्वे स्टेशन नजिक रहेको भन्सार कार्यालयमा आगजनी र तोडफोड गरेका थिए। घटनामा कार्यालयका दुई भवन, कर्मचारी आवास, दुई वटा भ्यान, लिलामीका लागि राखिएका ३१५ वटा मोटरसाइकल, एक निजी ट्रक, फर्निचर, कम्प्युटर र प्रिन्टर जलेर नष्ट भएका छन्।

पौडेलका अनुसार कर्मचारी निवासमा रहेका लत्ताकपडा, महत्वपूर्ण कागजात र केही रकमसमेत लुटिएको छ। घटनापछि कार्यालय सेवा पूर्ण रूपमा ठप्प भएको छ।

हाल जनकपुरधाम भन्सार कार्यालयअन्तर्गत रहेका भडरिया, इनरुवा र जटही छोटी भन्सार कार्यालयमार्फत सीमित रुपमा भन्सार जाँचपास सेवा सञ्चालन भइरहेको छ।

धनुषा जिल्ला प्रशासन कार्यालयले शुक्रबार जनकपुरधाममा आयोजना गरेको सेवा पुनः सञ्चालन तथा क्षति समीक्षा बैठकमा प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले सरकारी सेवा जनतासमक्ष छिटो, सरल र प्रभावकारी रूपमा पु¥याउन निर्देशन दिएका छन्।