काठमाडौं— सरकारले मुस्ताङ भन्सार कार्यालय सञ्चालनमा ल्याएको ६ दिनमै सो नाकाबाट २ सय ९ विद्युतीय सवारी साधन र १ सय ७ मालवाहक सवारी साधन भित्रिएका छन्। यस अवधिमा करिब साढे ३४ करोड रुपैयाँ राजस्व पनि संकलन गरिएको छ।
०८२ असार २४ गते रसुवा जिल्लामा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा बन्द भयो। त्यसपछि तातोपानी भन्सारतर्फको कोदारी राजमार्गमा आएको पहिरोले यातायात अवरुद्ध भएपछि सरकारले मुस्ताङ नाका पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो।
चीन र नेपालबीचको वैदेशिक व्यापार सहज बनाउन भदौ ३० गतेदेखि मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका) पूर्ण रूपमा कामकाजमा आएको हो।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार, “०८२ असोज ४ गतेसम्म मुस्ताङ भन्सार कार्यालयबाट २०९ विद्युतीय गाडी र १०७ मालवाहक सवारी साधनको सामान जाँच पास गरी कुल ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ राजस्व संकलन भएको छ।”
यस नाकामा अहिले आशिकुडा प्रणाली पनि सञ्चालनमा छ। नेपाल राष्ट्र बैंकको २०८२ भदौ ३१ को परिपत्र अनुसार मुस्ताङ भन्सार कार्यालयलाई चिनियाँ भूभाग मान्दै एकीकृत परिपत्र–२०८१ अन्तर्गत प्रतितपत्रमार्फत सामान आयात गर्ने प्रक्रिया समेत सहज गरिएको छ।