काठमाडौं— वन तथा वातावरणमन्त्री ऐन बहादुर साहीले सोमबार हिन्दूकुश हिमालय संसदीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले गम्भीर असर बेहोर्नुपरेको बताएका छन् ।
सम्मेलनको अवसरमा मन्तव्य दिंदै उनले जलवायु संकटले मुलुकभर नै विनाश ल्याइरहेको र अब यसको सामना गर्न सफल नीति निर्माण र कार्यान्वयन जरुरी भएको बताए ।
मन्त्री साहीले नेपालको सबैभन्दा ठूलो ताल रारासमेत जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा परेको उल्लेख गर्दै भने, ‘यो तथ्य मात्र होइन, आफैंले देखेको र भोगेको कटुसत्य हो ।’
उनले जलवायु परिवर्तनको प्रभावस्वरूप हालै रसुवा जिल्लामा आएको बाढी र पहिरोका कारण २० भन्दा बढीले ज्यान गुमाएको र अर्बौंको धनमाल नोक्सान भएको जानकारी दिए ।
यसैगरी, मन्त्री साहीले तराई–मधेस क्षेत्रमा लामो समयसम्म वर्षा नहुनुका कारण खानेपानीको हाहाकार भएको र किसानहरुले खेतमा रोपाइँ गर्न नपाएको अवस्था पनि देखिएको उल्लेख गरे ।
उनले भने, ‘सम्मेलनले हाम्रा साझा भविष्यको लागि सफल नीतिहरुको निर्माण र कार्यान्वयनमा सहयोग पुग्नेछ । वन तथा वातावरण क्षेत्रमा देखिएका विभिन्न चुनौतिहरुलाई सफलताका साथ सम्पन्न गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने छ । सबैभन्दा ठूलो ताल रारा ताल जस्तो प्राकृतिक सम्पदा पनि अहिले जलवायु परिवर्तनको असरबाट पीडामा छ । यो तथ्य मात्रै होइन आफैंले देखेको र भोगेको कटुसत्य पनि हो । यसवर्ष मात्रै नेपालले जलवायु परिवर्तनका दुखद अनुभवहरु बेर्होनुपर्यो । हालै रसुवामा ठूलो बाढी पहिरोबाट करिब करिब २० जना भन्दा बढीले ज्यान गुमाउनुपर्यो । अर्बौं धन सम्पत्तिहरु नोक्सानीमा परेको अवस्था छ । यसै वर्ष नेपालको तराई मधेस क्षेत्रमा लामो समय वर्ष नहुँदा खानेपानीको समस्यासँगै किसानहरुले खेत रोप्न पाएको अवस्था रहेन । समयमा किसानले खेत रोप्न नपाउँदा आउँदा दिनमा खाद्य सुरक्षामा समस्या आउने अवस्था सिर्जना भएको छ ।’