काठमाडौं— फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सत्र करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीको साधारणसभाले यो निर्णय गरेको हो।
कम्पनीले भोजपुरको साल्पासिलिछो गाउँपालिकामा ४.३ मेगावाटको फेदीखोला (थुमलुङ) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। आगामी पुस मसान्तसम्ममा यो आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
सञ्चालक प्रकाशचन्द्र दुलालका अनुसार, आयोजनाको अनुमानित लागत ९४ करोड रुपैयाँ रहे पनि २०८१ साउन १५ गतेको बाढीका कारण लागत ४ करोड रुपैयाँले बढेर ९८ करोड रुपैयाँ पुगेको छ। कुल लागतको ४९ प्रतिशत (४८ करोड रुपैयाँ) सेयरधनीबाट र बाँकी ५१ प्रतिशत (५० करोड रुपैयाँ) राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिइएको छ।
साधारणसभाले कम्पनीको अधिकृत पुँजी ६० करोडबाट बढाएर ७० करोड पुर्याउने र सोहीअनुसार २५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने निर्णय गरेको छ।
कम्पनीले अन्य जलविद्युत् आयोजनामा पनि लगानी गर्ने निर्णय गरेको छ। यसअनुसार, ९ मेगावाटको वन्डर्स इनर्जी (खिम्ती घ्वाङखोला) मा ५ करोड रुपैयाँ र १५ मेगावाटको इर्खुवा खोला जलविद्युत् आयोजना मा १५ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले २०९० सालभित्र कम्तीमा १०० मेगावाट क्षमताको आयोजना अगाडि बढाउने लक्ष्य राखेको छ।