काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि केवल कानुनी व्यवस्था र कार्यान्वयन पर्याप्त नहुने बताउँदै मोडल शिक्षाको आवश्यकता औंल्याएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ संवाद’ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानिसको चरित्र, आचरण र सोचमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।

ओलीले भने, ‘भ्रष्टाचारलाई हामी शून्यमा पु¥याउन सक्छौं, तर यो केवल ‘ल इम्प्लिमेन्टेसन’ र ‘ल इन्फोर्समेन्ट’ बाट सम्भव हुँदैन । मानिसले आफूभित्रैबाट ‘म गलत गर्दिन’ भन्ने सोच विकास गरे मात्र यो समस्याको समाधान सम्भव छ ।’

उनले कानुनको भूमिका अस्वीकार नगरे पनि केवल कानुनी कारबाहीका भरमा भ्रष्टाचार नियन्त्रण गर्न कठिन हुने तर्क गरे । ‘कानुनले पत्ता लगाएर कारबाही गर्छ भने पनि पत्ता लगाउन गाह्रो हुन्छ । भ्रष्टाचारको अन्त्य कानुनले मात्र होइन, समाजमा नैतिक शिक्षा र मूल्यका आधारमा सम्भव हुन्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले मोडल एजुकेशन (आदर्श शिक्षा) लाई भ्रष्टाचार नियन्त्रणको मुख्य माध्यमको रूपमा प्रस्तुत गर्दै शिक्षा प्रणालीमा सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा उनले डिजिटल नेपाल अभियानको प्रभावकारी कार्यान्वयनका लागि पारदर्शिता, उत्तरदायित्व र नागरिक सचेतनालाई पनि महत्वपूर्ण तत्वका रूपमा उल्लेख गरे ।