काठमाडौं— सरकारले निर्माणको अन्तिम चरणमा रहेको नागढुङ्गा सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनका लागि दस्तुर तोकेको छ। मन्त्रिपरिषद्को हालैको बैठकले दस्तुर दर निर्धारण गरेको हो।
निर्धारित दस्तुरअनुसार साना सवारी साधन (कार तथा भ्यान) काठमाडौंतर्फ आउँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनी बस तथा ट्रकका लागि भित्रिँदा ११५ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ।
त्यस्तै, ठूला बस र ट्रकहरूले काठमाडौं आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। भारी उपकरणसहितका सवारी साधनले भने भित्रिँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ।
सुरक्षा तथा प्रविधिगत कारण देखाउँदै सुरुङ मार्गमा मोटरसाइकल सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
२.६ किलोमिटर लामो यस सुरुङ मार्गको निर्माण लागत करिब २२ अर्ब रुपैयाँ पुगेको छ। कुल लागतमध्ये १६ अर्ब रुपैयाँ जापान सरकारको सहुलियतपूर्ण ऋण र बाँकी ६ अर्ब रुपैयाँ नेपाल सरकारको आन्तरिक लगानी रहेको जनाइएको छ।
सरकारले सुरुङ मार्गको परीक्षण सकिने बित्तिकै सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरेको छ।