काठमाडौं – शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीका कार्डियोभास्कुलर विभाग प्रमुख तथा वरिष्ठ कार्डियाक सर्जन डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन्।
मंगलबार अमेरिका पुगेका कोइरालाले बुधबार सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा राजीनामा पत्र सार्वजनिक गर्दै आफ्नो राजीनामा आगामी असोज ३० गते (१६ अक्टोबर २०२५) बाट लागू हुने बताएका छन्।
डा. कोइराला गंगालाल केन्द्रमा २५ वर्षदेखि कार्यरत थिए।
राजीनामा पत्रमा उनले लेखेका छन्, "हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने हुँदा सोही मिति असोज ३० गतेदेखि राजीनामा लागू हुने गरी स्वीकृत गरिदिन अनुरोध गर्दछु। साथै, सञ्चालक समितिलाई समेत जानकारी गराइदिनुहुन अनुरोध गर्दछु।"
कोइरालाले अमेरिका पुगेपछि एउटा तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, "देश, पेशा, जीवन र भूमिका: अब सबै फरक।"