काठमाडौं— प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आज (बुधबार) का लागि तय गरिएको भूमि सम्बन्धी ऐन संशोधन विधेयकको छलफल फेरि स्थगित भएको छ।
बिहान १० बजेका लागि बोलाइएको बैठकमा विधेयकमाथि छलफल हुने भनिएको थियो। तर, समितिमा विधेयकको प्रतिवेदनमाथि अझै छलफल चलिरहेकाले बैठक स्थगित गरिएको समिति सचिव शिवदत्त बरालले जानकारी दिए।
यसअघि मंगलबार (२७ साउन) को बैठक पनि स्थगित गरिएको थियो।
विधेयकको मस्यौदा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो। समितिका सदस्यहरूलाई मस्यौदा प्रतिलिपि पहिल्यै वितरण गरिसकिएको छ।
तर, कतिपय सांसदहरूले मन्त्रालयहरूले विधेयकको मस्यौदा एकलौटी रूपमा तयार पारेको भन्दै असन्तुष्टि जनाएका छन्। यही असन्तुष्टि र प्रतिवेदनमाथिको अपूर्ण छलफलका कारण बैठकहरू पटक–पटक स्थगित हुँदै आएका छन्।
सम्बन्धित पक्षहरूबीच अझै सहमति जुट्न नसकेकाले छलफल कहिले अघि बढ्ने भन्ने विषयमा अन्योल कायमै छ।