काठमाडौं –  वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकरको नयाँ मुख्य प्रशिक्षकमा लोकबहादुर बुढा नियुक्त गरिएको छ ।

खेलाडी र प्रशिक्षकको भूमिकामा लामो समयदेखि काम गर्दै आएका लोक पहिलो पटक फ्रेन्चाइज भलिबल लिगमा प्रशिक्षक बनेका हुन् ।

यसअघि पहिलो संस्करणमा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक समेत रहेका जगदिश भट्ट थिए । यस सिजन लोकलाई नयाँ मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरिएको हो ।

लोकले त्रिभुवन आर्मी क्लबबाट खेलाडीको रुपमा खेलेका थिए भने हाल सोही क्लबमा प्रशिक्षकको भूमिकामा छन् । उनले राष्ट्रिय टिमको कोचिङ स्टाफको रुपमा रहेर समेत काम गरिसकेका छन् ।

लोकको प्रशिक्षण अनुभवले काठमाडौं स्पाइकर्सले राम्रो नतिजा हात पार्ने टिमको विश्वास छ । भलिबलप्रतिको उनको समर्पण, अनुभव र अनुशासनको कारण उनले फ्रेन्चाइज टिममा जिम्मेवारी पाएका हुन् ।

काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षक नियुक्त भएपछि लोकले आफ्नो जिम्मेवारी पूरा गर्ने र राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताएका छन् ।

उनले भने, ‘एभरेष्ट महिला भलिबल लिगको प्रशिक्षकमा नियुक्त हुँदा खुशी छु र काठमाडौंलाई धन्यवाद दिन चाहन्छु । प्रशिक्षकको रुपमा पहिले देखि काम गरिरहेको छु । राष्ट्रिय टिमको कोचिङ स्टाफ र विभागीय टिममा पनि प्रशिक्षक भएर काम गरिसकेको छु । अक्सनबाट खेलाडीहरु अनुबन्ध भइसकेको छ । अब छिटै विदेशी खेलाडीहरु पनि अनुबन्ध हुने चरणमा छ ।’                                                                                                                          नेपाली राष्ट्रिय महिला टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेयर रहेको काठमाडौँ स्पाइकर्समा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् । यसअघि अक्सनबाट कबिता भट्टलाई अनुबन्ध गरेपनि उनी अष्ट्रेलिया गएपछि उनको स्थानमा भुवनेश्वरिलाई राखिएको हो ।