भुटानमा जारी एएफसी यू-२० महिला एसियन कप छनोट फुटबल प्रतियोगितामा नेपाली टोलीले पहिलो जीत हासिल गरेको छ । नेपाली टोली शुक्रबार खेलिएको आफ्नो दोस्रो खेलमा साउदी अरेबियालाई १-० गोलले हराएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलमा नेपाली टोलीले अन्तिम समयमा निर्णायक गोल गरेको थियो । निर्धारित समयको ९० औं मिनेटमा नेपालका लागि सुक्रिया मियाँले निर्णायक गोल गरेकी थिइन् ।
उक्त नतिजापछि नेपाली टोलीको अगाडि बढ्ने सम्भावना कायमै राखेको छ । जितसँगै नेपाली टोली अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । नेपालले दुई खेलबाट चार अंक जोडेको छ । एक खेलबाट तीन अंक बटुलेको उत्तर कोरिया दोस्रो स्थानमा आसिन छ ।
एक खेलबाट एक अंक जोडेको भुटान समूह ‘ए’ तालिकाको तेस्रो स्थानमा छ । नेपालसँग पराजित भएपछि साउदी अरेयिबाको अगाडि बढ्ने सम्भावना भने समाप्त भएको छ । साउदी अरेयिबा यसअघि आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग ०–१५ गोलले पराजित भएको थियो ।
नेपाली टोली भने आफ्नो पहिलो खेलमा आयोजक राष्ट्र भुटानसँग १–१ गोलको बरारीमा रोकिएको थियो । नेपाली टोलीले अब आफ्नो तेस्रो तथा अन्तिम खेल आइतबार उत्तर कोरियासँग खेल्नेछ । शुक्रबारको दोस्रो खेल उत्तर कोरिया र भुटानबीच खेलिने छ ।
एसियन कपको छनोट प्रतियोगितामा कूल ३२ टोली सहभागी छन् । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । समूहगत चरणको खेलपछि तालिकाको पहिलो स्थानमा रहने टोली सिधै एएफसी यू-२० एसिया कपमा छनोट हुनेछन् ।
छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने उपविजेता टोलीमध्ये तीन टोलीले पनि एसिया कप खेल्ने अवसर पाउने छ । यू-२० एसिया कपको १२ औं संस्करण सन् २०२६ को अप्रिल १ देखि १८ तारिखसम्म थाइल्यान्डमा आयोजना हुँदैछ ।
उक्त प्रतियोगितामा कूल १२ टोलीको सहभागिता रहने छ । थाइल्यान्डले आयोजकका रूपमा प्रतियोगितामा सहभागिता जनाउने छ । बाँकी ११ टोली भने छनोट चरण पार गर्दै मुख्य प्रतियोगितासम्म पुग्नेछन् ।
जारी छनोट प्रतियोगिता शुरू हुनुअघिसम्म नेपाली टोलीका लागि साउदी अरेयिबा र उत्तर कोरिया नयाँ प्रतिद्वन्द्वी थिए । उत्तर कोरिया एएफसी यू-२० महिला एसियन कपको पूर्वविजेता पनि हो ।
उत्तर कोरियाले हालसम्म दुईपटक उपाधि जितेको छ । सन् २००७ मा पहिलो पटक उपाधि जितेको उत्तर कोरियाले सन् २०२४ मा दोस्रो पटक उपाधि कुम्ल्याएको थियो ।






































