काठमाडौँ – गोरखामा एक किशोरीको शव फेला परेको छ।
तनहुँको भानु नगरपालिका- ९ काउरेटार घर भएकी १७ वर्षीया रमा कुमालको शव गोरखास्थित मर्स्याङ्दी नदी किनारमा फेला परेको हो।
साेमबार राति ९ बजे ट्वाइलेट जान्छु भनी हिँडेकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा मंगलबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्र सुवेदीले जानकारी दिए।
छोरी बेपत्ता भएपछि किशोरीका बुबा कैले कुमालले पुर्कोट प्रहरी चौकीलाई खबर गरेका थिए।
त्यसपछि प्रहरी र आफन्तले खोजी गर्ने क्रममा उनको शव गोरखाको पालुङटार नगरपालिका -५ हवाई ग्राउण्ड घुमौरास्थित मर्स्याङ्दी नदी किनारामा फेला परेको प्रहरीले जनाएको छ।
उनको मृत्युको कारण खुलेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी सुवेदीले बताए।