काठमाडौं— वाग्मती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँ नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका अनुसार, नवनियुक्त मुख्यमन्त्री बानियाँको शपथ आजै ४ बजे हुने तय भएको छ ।

वाग्मती प्रदेश सभापतिसमेत रहेका बानियाँ कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह लामालाई हराएपछि मुख्यमन्त्री बनेका हुन् ।

बानियाँ भने मन्त्रीहरूको छनोटमा जुटेका छन् । अहिलेसम्म शिवराज अधिकारीबाहेक मन्त्री बनाउने व्यक्तिको टुंगो नलागेको बानियाँनिकट नेताहरू बताउँछन् ।

कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि बहादुरसिंह लामाले गत आइतबार राजीनामा दिएका थिए । सोमबार प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । आह्वानको भएको आधा घण्टामै बानियाँले दाबी प्रस्तुत गरेका थिए ।

कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८(२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुपर्छ ।

कुल ११० सदस्यीय वाग्मती प्रदेशसभाको बहुमत प्राप्त गर्न कम्तीमा ५६ सांसदको समर्थन आवश्यक पर्छ । बानियाँले कांग्रेस र एमालेको समर्थनमा दाबी प्रस्तुत गरेका थिए । प्रदेशसभामा कांग्रेसका ३७ र सत्ता साझेदार एमालेका २७ गरी ६४ सांसद छन् ।

वाग्मती प्रदेशसभामा माओवादी केन्द्र २१, राप्रपा १३, नेकपा (एकीकृत समाजवादी) ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टी २ जना सांसदसहित सात राजनीतिक दलको प्रतिनिधित्व छ ।

वाग्मतीमा एक वर्षअघि सरकार गठन हुँदा एमाले र कांग्रेसबीच २०–२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । सहमतिअनुसार, नयाँ मुख्यमन्त्री बानियाँले अब आगामी फागुनसम्म पदमा रहनेछन् ।