काठमाडौं— भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गरे लगत्तै दुबै दलका सांसदहरू उठेर विरोधमा उभिएका थिए। त्यसपछि सभामुखले रास्वपाका सांसद विराजभक्त श्रेष्ठलाई बोल्ने अनुमति दिएका थिए। श्रेष्ठले सरकारलाई पटक–पटक माग गर्दा पनि भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय न्यायिक समिति गठन नभएकोप्रति गम्भीर आपत्ति जनाउँदै जबसम्म छानबिन समिति बनाइँदैन, तबसम्म विरोध जारी राख्ने बताएका छन्। उनले मन्त्रिपरिषद्का केही सदस्यहरू विभिन्न काण्डमा मुछिएको आरोप लगाउँदै तिनको पनि छानबिन गर्न माग गरे।
पछिल्लोपटक सभामुखले राप्रपाका सांसद दीपकबहादुर सिंहलाई बोल्ने समय दिए। सिंहले पनि विगतदेखि उठाउँदै आएको माग बमोजिम समिति नबनेसम्म राप्रपाले संसद्मा सहभागिता जनाउने छैन भने। साथै उनले बैठक बहिष्कार गर्ने दिनको भत्ता नलिने निर्णयसमेत सार्वजनिक गरे।
सांसदहरूले धारणा राखेपछि रास्वपा र राप्रपाका सबै सांसदहरू संसद् कक्षबाट बाहिरिएका छन्।
सरकारले भिजिट भिसा दुरुपयोग प्रकरणमा औपचारिक छानबिन गर्न आनाकानी गरिरहेकाले दुवै पार्टीले दबाबस्वरूप संसद् अवरोध गर्ने रणनीति अपनाएको बताइएको छ।