काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद उम्मेदवार कुसुम महर्जनले आफ्नो नाम सूचीबाट हटाउन पार्टीमा निवेदन दिएकी छन्। महर्जनको निवेदनबारे निर्णय गर्न रास्वपाले आज दिउँसो ३ बजे पार्टी कार्यालय, बनस्थलीमा सचिवालय बैठक बोलाएको छ।
महर्जन २०७९ सालको संघीय निर्वाचनमा रास्वपाको समानुपातिक सूचीमा आदिवासी जनजाति क्लस्टरअन्तर्गत परेकी थिइन्। रुपन्देही स्थायी ठेगाना भएकी महर्जन हाल काठमाडौंमा बसोबास गर्दै आएकी छन्।
पार्टी स्रोतका अनुसार, आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनमा रुपन्देही–३ बाट उम्मेदवारी दिन इच्छुक महर्जनले सोही तयारीस्वरूप समानुपातिक सूचीबाट नाम हटाउन निवेदन दिएकी हुन्। पार्टीले उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेको छ।
रास्वपा अहिले रुपन्देहीको उपनिर्वाचन तयारीमा केन्द्रित भएको छ। केही दिनअघि भैरहवामा संसदीय दलको बैठक सम्पन्न गरिसकेको रास्वपाले आजको सचिवालय बैठकमा उम्मेदवार चयन, दल दर्ताजस्ता प्रक्रियाबारे निर्णय गर्ने प्रवक्ता मनीष झाले जानकारी दिए।