काठमाण्डौ । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश दिएको छ।
सोमबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको वाणिज्य इजलासले धरौटीमा छाड्न आदेश दिएको हो। नेपाल राष्ट्र बैंकले गत माघ २३ गते दुर्गा प्रसाईंको कारोबारमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई पत्राचार गरेको थियो।
सिआइबीले विशेष सरकारी वकिलको कार्यालयलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनको अभियोजन गरी सरकारी वकिलले दुर्गा प्रसाईंविरूद्ध १८ करोड ४४ लाख बिगो कायम गरेर जरिवाना र कैद सजाय माग गरेको थियो। त्यस्तै पीडित राहत कोषमा क्षतिपूर्तिसम्म भराउन माग गरेको थियो।
प्रसाईंले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरूमा गलत कारोबार देखाएको ९राउन्ड ट्रिपिङ०, स्वार्थ बाझिने गरी आपसी पक्षसँगै कारोबार ९रिलेटेड पार्टी ट्रान्जाक्सन० लगायतका शंकास्पद कारोबार गरेको आरोप थियो। उच्च अदालतले दुर्गा प्रसाईं अहिले नै निर्दोष हुन् भन्न नसकिने पनि आदेशमा उल्लेख गरेको छ।
प्रसाईंले अदालतसमक्ष बयान गर्दा कसुरमा इन्कार गरेको देखिएता पनि उनीमाथि राउन्ड ट्रिपिङ र लेयरिङ गरी कर्जा अपचलन गरेको भन्ने दाबी घटना कागज गर्ने व्यक्तिहरूले गरेको कागज, सहप्रतिवादीहरूले अनुसन्धानमा गरेको बयान, छानबिन समितिको प्रतिवेदन बेहोरा समेत मध्यनजर गरी मिसिल संलग्न तत्काल प्रमाणहरूबाट दुर्गा प्रसाईं निर्दोष रहेछन् भनी अहिले नै भन्न सकिने अवस्था नदेखिँदा, आदेशमा भनिएको छ।उनी क्यान्सरका बिरामी समेत भएकाले थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने भन्दै उच्च अदालतले उनलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।