काठमाडौँ — जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ र पोखरामा गरी १६ जना पक्राउ परेका छन्।

शनिबार दिउँसो, काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१ सिमलीगाउँस्थित श्याम तामाङको टहरामा जुवा खेल्दै गरेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। रामेछापको मन्थली नगरपालिका–६ स्थायी घर भई हाल बूढानीलकण्ठमा बसोबास गर्दै आएका ३९ वर्षीय श्याम तामाङ पनि पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले नगद ५० हजार ३३० रुपैयाँसहित पक्राउ गरेको हो।

त्यसैदिन साँझ, पोखरा महानगरपालिका–६ लेकसाइडस्थित होटल लेक टप एण्ड रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा रेष्टुरेन्टका सञ्चालक चिन्तामणि अधिकारीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। चिन्तामणि पोखरा महानगरपालिका–२४ का स्थायी बासिन्दा हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनीहरूलाई २ लाख ६१ हजार ४ सय रुपैयाँ नेपाली, ५ हजार ५ सय रुपैयाँ भारतीय, र २० बुक ताससहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार दुबै घटनामा संलग्नबारे थप अनुसन्धान जारी छ।