मोरङ — सुनसरी जिल्लाको गढी गाउँपालिका–२, औरावनीबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छलेर भारतबाट ल्याइएको १३ लाख ९४ हजार १ सय रुपैयाँ बराबरको लत्ताकपडा सहित तीन वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल, नम्बर ४ गण सुनसरीका अनुसार को १९ प ९०९२, प्र १–०२–०३६ प ३६०८, र को ३ प १२० नम्बरका मोटरसाइकलहरूमा ती सामानहरू राखिएको थियो। ती मोटरसाइकलमार्फत भारतबाट लत्ताकपडा अवैध रूपमा नेपाल ल्याउने प्रयास भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीको गस्ती टोली देखेपछि सामान ओसारपसारमा संलग्न व्यक्ति फरार भएको र मोटरसाइकलहरू त्यहीँ छाडेर भागेको जनाइएको छ।

बरामद गरिएको लत्ताकपडा र तीनवटै मोटरसाइकललाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउनका लागि सुनसरी भन्सार कार्यालय, सेतुबन्ध–कोशी ब्यारेजमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।