काठमाडौं — नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता चौधरीले आफूमाथि लागेको आरोपको जवाफ केन्द्रीय समिति बैठकमा आएर दिनुपर्ने बताएका छन्।

भिडियो सन्देशमार्फत रेशम चौधरीले अध्यक्ष रञ्जितालाई "भाग्न नपाउने" भन्दै पार्टीको बैठकमा स्पष्ट रूपमा उपस्थित भएर आफ्नो पक्ष राख्न आग्रह गरेका छन्।

रञ्जिता चौधरी कास्कीस्थित लिचीबारी जग्गा प्रकरणमा बिचौलिया बनेर मन्त्रीलाई घुस खुवाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेकी छन्।

रेशम चौधरीले भने, “अध्यक्षले बैठक वैधानिक होइन भनेर आफूलाई अलग राख्न खोज्नुहुन्छ भन्ने सुनेको छु। तर उहाँ अध्यक्ष हुनुहुन्छ भने सबै सदस्य उहाँकै परिवार हुन्, त्यसैले उहाँले प्रतिशोधको भावना राख्नु हुँदैन। बैठक किन बोलाइएको हो भनेर उहाँले बुझ्नुपर्ने हो।”

उनले अहिलेको विवादको जड पार्टी अध्यक्षकै गतिविधिका कारण भएको दाबी गर्दै, रञ्जिता चौधरीले केन्द्रिय समितिमा आएर स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। साथै पार्टीलाई व्यक्तिगत कारणले बन्धक बनाउन नहुने चेतावनीसमेत दिएका छन्।

चौधरीले उक्त बैठक आफूले सुझाव दिएर नै बोलाइएको जानकारी दिँदै आफू निकासको बाधक नभएको प्रस्ट पारे। साथै आफू संरक्षक बने पनि पार्टीभित्र भूमिका नपाएको गुनासो पनि उनले व्यक्त गरे। पार्टीभित्र उत्पन्न समस्याको समाधान संवादमार्फत गर्नुपर्नेमा उनले जोड दिएका छन्।