काठमाडौं— राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राख्ने भएको छ।
असार १ गतेबाट हाल कायम चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो ।
जसमा बिक्री हुन बाँकी रहेको कुल ७ लाख ४ हजार १११ कित्ता सेयर बोलकबोल बढाबढ मार्फत बिक्री गर्ने भएको हो । सर्वसाधारण समूहतर्फ ५ लाख ६४ हजार १० कित्ता र सर्वसाधारण समुहतर्फको लकइनमा नरहेको (साउन ८ गतेसम्म लकइन) १ लाख ४० हजार १०१ कित्ता सेयर लिलामी मार्फत बिक्री गर्ने भएको हो ।
बिक्रीमा राखिने सेयरमा इच्छुक जोहीकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। यस सेयरमा साउन १३ गतेबाट साउन २० गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ ।
सेयरको बोलपत्र आवेदन फारम मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय, नक्साल काठमाडौं, मुक्तिनाथ विकास बैंक, शाखा कार्यालय ठिमी भक्तपूर, कुमारीपाटी ललितपुर, बिर्तामोड झापा, विराटनगर, बीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, बाग्लुङ, बुटवल, घोराही, दाङ, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगरबाट पाइनेछ ।