काठमाडौं— काठमाडौंको ऐतिहासिक धरहरा अब प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सर्वसाधारणका लागि खुला हुने भएको छ। नयाँ समय तालिका साउन १ गतेदेखि लागू गरिएको हो।

२०७२ सालको विनाशकारी भूकम्पमा धरहरा पूर्ण रूपमा ध्वस्त भएको थियो। त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा पुनर्निर्माण थालिएको धरहरा २०७८ साल वैशाख ११ मा पुनः उद्घाटन गरिएको थियो।

धरहराबाट हालसम्म (असार २४ गतेसम्म) ४ करोड ८३ लाख ६५ हजार रुपैयाँ आम्दानी भइसकेको छ।

धरहरामा प्रवेश गर्दा सवारी पार्किङ निःशुल्क गरिएको छ। तर धरहरा चढ्नका लागि नेपाली नागरिकले प्रतिव्यक्ति २ सय रुपैयाँ तिर्नुपर्नेछ। विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूले भने ५० प्रतिशत छुटसहित १ सय रुपैयाँमा धरहरा चढ्न सक्नेछन्।

सार्क मुलुकबाट आउने पर्यटकका लागि धरहरा प्रवेश शुल्क ५ सय रुपैयाँ तोकिएको छ भने सार्कबाहेक अन्य विदेशी नागरिकले १ हजार रुपैयाँ तिर्नुपर्नेछ। यो जानकारी सहरी विकास मन्त्रालयले दिएको हो।