काठमाडौं— कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति र फ्लडलाइट जडानको काम समयमा नसकेपछि ठेकेदार कम्पनीलाई हर्जाना तिराउने गरिएको छ । तोकिएको समयमा काम सम्पन्न नगरेपछि पूर्व सम्झौताअनुसार दैनिक जरिवाना लागाइएको हो ।
सम्झौताअनुसार, योजनाको कुल रकमको ०.०५ प्रतिशत दैनिक हर्जाना तिर्नुपर्ने व्यवस्था छ । जुन करिब दैनिक दुई लाख रुपैयाँभन्दा बढी पर्ने सहरी विकास मन्त्रालयले जनाएको छ ।
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठका अनुसार, असार ३० गते नै ठेकेदार कम्पनीलाई तोकिएको समयमा काम नसक्दा हर्जाना लाग्ने जानकारी गराइएको थियो ।
'असार ३० गते नै निर्माण कम्पनीहरूलाई पूर्वनिर्धारित क्षतिपूर्ति ९हर्जाना० बारे जानकारी गराइसकेका छौँ । अहिले उहाँहरू दैनिक हर्जाना तिरेर काम गरिरहनुभएको छ । अब काम नसक्दासम्म दैनिक हर्जाना लाग्नेछ,' उनले भने ।
यसरी हर्जाना तिरेर बढीमा २०० दिन अर्थात् आयोजनाको कुल रकमको १० प्रतिशतसम्म हर्जाना हुने कानुनी व्यवस्था छ । त्यस अवधिमा पनि काम नसके निर्माण कम्पनीलाई कालोसूचीमा राखिने व्यवस्था छ ।
मैदानको प्यारापिट निर्माणका लागि बीकेओआई केसीडीसी बीजी जेभी र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभी कम्पनीसँग फागुन १९ र २२ गते संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरनसँग सम्झौता भएको थियो । प्यारापिट निर्माणका लागि ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँ लागत तय भएको थियो ।
निर्माण कम्पनीले एक महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ । हालसम्म चारहजार कुर्सी फिटिङ भइसकेको छ भने ६ वटा फ्लडलाइटमध्ये तीनवटा पोल आइसकेका छन् । प्यारापिटतर्फ वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत रहेको छ । फ्लडलाइट जडानतर्फ २९ प्रतिशत वित्तीय प्रगति र ४५ प्रतिशत भौतिक प्रगति भएको छ ।