काठमाडौं–संसद देशको कानुन निर्माण गर्ने सर्वोच्च संस्था हो, जहाँ जनता आफ्ना जनप्रतिनिधिमाथि ठूलो विश्वास राख्छन्। त्यसैले सांसदहरूको बोली, व्यवहार र सार्वजनिक आचरण सधैं जनचासोको विषय बन्छ।

यद्यपि, सांसदहरूले पदको गरिमा कायम राख्न नसकेको धेरै उदाहरणहरू सार्वजनिक भइरहेका छन्। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायत यस्तै विवादमा तानिएकी छन्।

पूर्व टेलिभिजन कार्यक्रम सञ्चालिका कठायत, जो समानुपातिक सांसद बनेकी हुन्, हालै सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोका कारण चर्चामा आएकी हुन्। भिडियोमा उनी एक युवकसँग फिट्नेस सेन्टरमा 'रोम्यान्टिक' शैलीमा देखिन्छिन्। ‘सपनाभरी म तिमीलाई नै देख्छु’ बोलको गीतमा बनेको उक्त भिडियोमा उनी बोल्ड पहिरनमा ‘कपल पोज’ दिइरहेको देखिन्छ।

यद्यपि, निजी जीवनमा यस्तो भिडियो बनाउनु व्यक्तिगत स्वतन्त्रताको विषय हो, सार्वजनिक पदमा बसेका व्यक्तिहरूको हरेक गतिविधि सार्वजनिक मूल्यांकन (पब्लिक अडिट) को दायरामा पर्ने हुँदा यस्ता कार्य बढी संवेदनशील बन्न सक्छन्।

रास्वपाका कतिपय कार्यकर्ताहरू सांसद कठायतप्रति असन्तुष्ट देखिन्छन्। उनीहरूले "पार्टी अभियानमा अनुहार नदेखाउने तर जिम पुगेर भिडियो बनाउने फुर्सद हुने" भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन्। अध्यक्ष रवि लामिछानेलाई नउठाउने पार्टीको हस्ताक्षर संकलन अभियानमा कठायतले सक्रियता नदेखाएको भन्ने गुनासो पनि छ।

एक जिल्ला नेताले भने, "सांसद कठायत संसद बैठकबाहेक प्रायः कार्यालयमा देखिँदैनन्। पार्टीको अभियानभन्दा जिममा बढी समय बिताउनेजस्तो देखिन्छ।"

यो पहिलोपटक होइन कि कठायत आलोचनामा परेकी हुन्। केही महिनाअघि एक पोडकास्टमा उनले "शारीरिक सम्बन्धका लागि विवाह अनिवार्य छैन, मेरो ब्वाइफ्रेन्ड छ तर विवाह गर्दिनँ" भनेपछि उनीप्रति चर्को आलोचना भएको थियो। त्यसअघि पोखरामा आयोजित एक कार्यक्रममा सांसद तोसिमा कार्कीको गालामा चुम्बन गर्दै गरिएको प्रस्तुति पनि विवादित बनेको थियो।